बाँकेमा एचआईभी संक्रमित ११९ पुगे, चार महिनामै ३९ नयाँ संक्रमण पुष्टि
१५ मंसिर, नेपालगञ्ज — बाँकेमा एचआईभी संक्रमितको संख्या बढ्दै पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० जना नयाँ संक्रमित फेला परेकोमा चालु आवको चार महिनामै थप ३९ जनामा एचआईभी पुष्टि भइसकेको छ। यससँगै हाल जिल्लामा संक्रमितको संख्या ११९ पुगेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन रवीन्द्र शाहका अनुसार साउनयता भेटिएका ३९ संक्रमितमध्ये २७ पुरुष र १२ महिला छन्। तिनमध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्ष उमेर समूहका ३१ जना रहेका छन्।
आव २०८१/८२ मा पहिचान गरिएका ८० संक्रमितमध्ये १५–४९ वर्ष उमेर समूहका ६६, ४९ वर्षमाथिका ८ र १५ वर्षमुनिका ६ जना छन्। शाहका अनुसार जनचेतना र परीक्षण विस्तारले संक्रमण दर केही घट्दो देखिए पनि नियमित परीक्षण जारी रहनु आवश्यक छ।
बाँकेमा एचआईभी संक्रमितले भेरी अस्पताल, नेपालगञ्जबाट निःशुल्क ‘एआरटी’ औषधि प्राप्त गर्दै आएका छन्। जिल्लाभरका स्वास्थ्य चौकीमा प्रारम्भिक परीक्षण हुने गरे पनि अन्तिम पुष्टि भेरी अस्पतालमै गरिन्छ। हाल आव २०८१/८२ मा मात्रै ६१३ जना संक्रमित ‘एआरटी’ उपचार अन्तर्गत रहेको कार्यालयले जनाएको छ।
गर्भवती महिलाहरूलाई लक्षित पीएमटीसीटी कार्यक्रमअन्तर्गत २८ हजार २३४ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको कार्यालयले जनाएको छ। भेरी अस्पतालमा गत आव २०८०/८१ मा सात जना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएका थिए भने अघिल्लो वर्ष पाँच जनाले स्वस्थ बच्चा जन्माएका थिए।