ताप्लेजुङमा प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता संख्या ९० हजार नाघ्यो
ताप्लेजुङ, १४ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ताप्लेजुङ जिल्लामा कुल मतदाताको संख्या ९० हजार ३२७ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयले प्रकाशित अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन्। यसरी पुरुष मतदाताको संख्याभन्दा महिला मतदाता ६ हजार २४३ कम छन्।
पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका छन्। विसं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८८ हजार २८५ मतदाता थिए।
जिल्लाभर नौ स्थानीय तह रहेका छन्। सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा (१८ हजार १९०) रहेका छन् भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९४८ मतदाता छन्। अन्य स्थानीय तहमा मतदाता संख्या यस प्रकार छ: सिरिजङ्गा गाउँपालिका ११ हजार ६६४, पाथीभरा–याङवरक ९ हजार ७४१, आठराई–त्रिवेणी ९ हजार ५०१, फक्ताङलुङ ९ हजार ३००, सिदिङ्वा ८ हजार ९१५, मेरिङदेन ८ हजार ६१२ र मैवाखोला ७ हजार ४५६।
निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालका अनुसार जिल्लाभर ८० मतदान स्थल र १२७ मतदान केन्द्र स्थापना गरिएको छ।