बस चेकजाँचका क्रममा पेस्तोलसहित युवक पक्राउ
तनहुँ — आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।
तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ घर भएका १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन्।
प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादवलाई पेस्तोलसहित पक्राउ गरेको हो। उनी बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत मुग्लिन पुलजीपस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले सवारीसाधन जाँचलाई तीव्रता दिएको प्रहरी उपरीक्षक कार्कीले बताए।