आज अर्जेन्टिना र स्विट्जरल्यान्डबीच विश्वकप क्वार्टरफाइनल भिडन्त
फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा आज साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकी सहर कान्सास सिटीस्थित कान्सास सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ।
यस खेलमा सबैको ध्यान अर्जेन्टिनाका कप्तान लियोनेल मेसीमाथि रहनेछ। ३९ वर्षीय मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप हो। जारी प्रतियोगितामा उनले ५ खेलमा ८ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन् र गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
सन् २०२२ मा विश्वकप जितेका मेसी यसपटक अर्जेन्टिनालाई लगातार दोस्रो पटक सेमिफाइनलमा पुर्याउने लक्ष्यमा छन्। साथै, करियरमा बाँकी रहेको विश्वकप गोल्डेन बुट जित्ने लक्ष्यसहित उनी मैदान उत्रिनेछन्।