७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।
उनीहरूको साथबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुल, बा.५७ प. २४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।