भारतमा इन्डिगो एयरलाइन्सका दर्जनौं उडान रद्द, यात्रु अड्किए
काठमाडौँ, १८ मंसिर – भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडान रद्द भएका छन् भने अन्यमा ढिलाइ हुँदा हजारौं यात्रु विमानस्थलमा घण्टौं रोकिनुपरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भारतको प्रमुख विमान कम्पनीमध्ये एक इन्डिगोका १५० भन्दा बढी उडान रद्द भएका थिए भने दर्जनौं उडान ढिला भएका थिए।
इन्डिगोका एक पाइलट र स्रोतका अनुसार, पाइलटहरूको आरामको समय सुनिश्चित गर्न १ जुलाई र १ नोभेम्बरबाट लागू गरिएको नयाँ सरकारी नियमपछि कम्पनीलाई रोस्टर व्यवस्थापनमा कठिनाइ आएको छ।
अंग्रेजी अखबार द हिन्दुका अनुसार, कोलकाता एयरपोर्टमा बुधबार राति १२ बजेदेखि बेलुकी ८ बजेसम्म १५ उडान रद्द भएका थिए भने १३० भन्दा बढी उडान ढिला भएका थिए। हैदराबाद एयरपोर्टबाट पनि उडान रद्द र ढिलाइ भएको गुनासो प्राप्त भएको बीबीसीले जनाएको छ।
यात्रु असुविधा र उडान व्यवस्थापनमा समस्या बढेपछि इन्डिगो एयरलाइन्स र सम्बन्धित एयरपोर्टले स्थिति सुधारका लागि काम गरिरहेको जनाइएको छ।