कृषि मन्त्रालयले अनुदानको मल वितरण डिजिटल प्रणाली गर्यो सुरु
काठमाडौँ, १४ पुस – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ।
यस प्रणालीमार्फत मल आयात, मौज्दात र बिक्री-वितरणको विवरण अनलाइन अपडेट र सर्वसाधारणले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ। किसान र सर्वसाधारणले मन्त्रालयको वेबसाइट [http://www.moald.gov.np](http://www.moald.gov.np) वा [http://fms.moald.gov.np](http://fms.moald.gov.np) मार्फत आफ्नो स्थानीय तह चयन गरी स्टक र बिक्री विवरण अवलोकन गर्न सक्नेछन्।
मन्त्रालयले मल विक्रेता सहकारी र फर्महरूलाई अनिवार्य रूपमा स्टक र बिक्री विवरण प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ। यसले कालोबजारी, बढी मूल्य लिने र पहुँचवालाको दबदबा रोक्ने र वास्तविक किसानले समयमै मल पाउने सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।