चितवनमा आन्दोलनका घाइतेलाई राहत वितरण सुरु, ९ जनाले पाए रकम
चितवन — गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएका १४२ मध्ये हालसम्म ९ जनाले राहत रकम प्राप्त गरेका छन्। उनीहरूले आवश्यक परिचय पत्रसमेत लिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमका अनुसार अहिलेसम्म अधिकांश घाइतेहरू परिचय पत्र बनाउन वा राहत रकम लिन जिल्ला प्रशासनमा आएका छैनन्। केहीले आफू सामान्य घाइते भएको भन्दै रकम लिन नआएको उल्लेख गरिएको छ।
जिल्ला नेतृत्वहरूले प्रशासनलाई लिखित रूपमा रकम वितरण गर्न आग्रह गरेको र स्थायी ठेगाना अन्य जिल्लामा भएका घाइतेहरूले आफ्नो जिल्ला मार्फत रकम लिन सक्ने व्यवस्था मिलाइएको छ। राहत पाउनका लागि स्थायी ठेगानाको प्रमाण पेश गर्नुपर्ने छ।
प्रशासनले घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र सम्पन्न गर्ने तयारी गरेको छ। सरकारले आन्दोलनका घाइतेलाई राहत स्वरुप प्रत्येक जनालाई रु २० हजार दिने निर्णय गरेको छ।