रिलायन्स स्पिनिङ मिल्सको म्युचुअल फन्डका लागि छुट्याइएको आईपीओ बाँडफाँट
२६ मंसिर, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याएको आईपीओ बाँडफाँट गरेको छ। म्युचुअल फन्डका लागि छुट्याइएको ५७ हजार ७९८ कित्ता सेयर प्राप्त गर्न ४५ योजनाले आवेदन दिएकोमा ४१ योजनालाई सेयर वितरण गरिएको छ।
यसका लागि ४ करोड ७४ लाख ४० हजार ५९८ रुपैयाँ आवश्यक भए पनि कुल ७५ करोड ९० लाख ४९ हजार ५७४ रुपैयाँ आवेदन परेको थियो। सोमध्ये ७१ करोड १६ लाख ८ हजार ९७६ रुपैयाँ फिर्ता हुने छ। म्युचुअल फन्डका लागि छुट्याइएको सेयरमा ९ लाख २४ हजार ७६८ कित्ताको माग परेको थियो, जुन छुट्याइएको मात्राको १८ गुणा बढी हो।
वैदेशिक रोजगार मद्दतको तर्फबाट निष्कासन गरिएको १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि ३६ हजार ८२ आवेदकबाट २० लाख १ हजार ४७० कित्ताको माग परेको छ, जसले यो वर्गमा पनि उच्च चाप देखाएको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। बुक–बिल्डिङ निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई छुट्याइएको ७ लाख ७० हजार ६४० कित्ता सेयरको कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा अन्तिम मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।
रिलायन्स स्पिनिङ मिल्सले वार्षिक ५ करोड अमेरिकी डलरभन्दा बढी उत्पादन निर्यात गर्ने दाबी गरेको छ। मंसिर पहिलो साता सार्वजनिक लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो। खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ, जबकि अघिल्लो वर्ष ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ मात्र थियो।