चाबहिल–गौशाला–तिलगंगा क्षेत्रमा लुटपाट र अभद्र व्यवहार, १२ जना पक्राउ
काठमाडौं — काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट विदुर नगरपालिका–१३ का २८ वर्षीय अमृत खड्का, पर्सा बहुदरमाई नगरपालिका विश्रामपुरका १९ वर्षीय अकलेश साह र ३१ वर्षीय दिनेश पटेल, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–६ का १९ वर्षीय सुजन तामाङ, रोल्पा माडी गाउँपालिका–५ का २२ वर्षीय प्रविन ओली, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–७ का १९ वर्षीय रोजन तामाङ रहेका छन्।
त्यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका–६ का २१ वर्षीय जितेन्द्र सिंह विक, धनकुटा नगरपालिका–३ कागतेका २५ वर्षीय रोशनी राई, झापा भद्रपुर नगरपालिका–९ का २६ वर्षीय तिर्थ राजवंशी, उदयपुर त्रियुगा नगरपालिका–९ की रचना मगर, सुर्खेत चौकुने गाउँपालिका–८ की २१ वर्षीया जेनिसा थापा र झापा काकडभिट्टा नगरपालिका–३ की ३० वर्षीया संगिता तामाङ पक्राउ परेका छन्।
पर्यटकको आवागमन बढी हुने क्षेत्रमा यस्ता गतिविधि बढेको गुनासो आएपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।