जेनजी आन्दोलनका क्रममा फरार दुई कैदीबन्दी पक्राउ
काठमाडौं, पुस ३ — २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ निवासी ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भई हाल काठमाडौंको बानियाटार बस्दै आएका ३० वर्षीय विनोद केसी भनिने विनोद गौतम रहेका छन्।
प्रहरीका अनुसार श्यामलाल कँडेल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन्। उनले हालसम्म ९ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए भने अझै २३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ।
यस्तै, विनोद गौतम अपहरण तथा शरीर बन्धक, डाँका र संगठित अपराध मुद्दामा १३ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्। उनले ३ वर्ष सजाय भुक्तान गरिसकेका छन् भने अझै १० वर्ष ६ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
लुकीछिपी बसेको अवस्थामा दुवैजनालाई टोखा नगरपालिका अन्तर्गत टोखाचण्डेश्वरी क्षेत्रबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिने प्रहरीले जनाएको छ।