भारतको बलरामपुरमा नेपाली यात्रु सवार बस दुर्घटना, ३ जनाको मृत्यु, २४ घाइते
१६ मंसिर, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित बलरामपुर जिल्लामा नेपाली यात्रुहरू सवार बस दुर्घटनामा परी आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भारतीय मिडियाले जनाएको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
मंगलबार बिहान करिब साढे २ बजेतिर यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक कोतवाली देहात थाना अन्तर्गत पर्ने फुलबरिया सडकखण्डमा आपसमा ठोक्किएका थिए। ठोक्किएपछि बस करिब १०० मिटर घिस्रँदै हाइटेन्सन लाइनको बिजुलीको पोलमा ठोक्किएको बताइएको छ। पोल भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र सोही कारण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
दुर्घटनाग्रस्त बस नेपाल–भारत सिमानास्थित सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ।
घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ भने भारतीय प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।