सप्तरी र सिराहामा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौँ — सप्तरी र सिराहामा आइतबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
सिराहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा मोटरसाइकल (म.प्र.०१–००४ प ७८४८) र साइकल एकआपसमा ठोक्किँदा ७० वर्षीय साइकल चालक सत्यनारायण ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार एकजना घाइते छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सप्तरीको खडक नगरपालिका–११ बनौलीमा मोटरसाइकल (प्रदेश २–०१–००१ प १७०८) ले ठक्कर दिँदा ४२ वर्षीय दिप्रेन्द्र पासवानको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते अवस्थामा उपचाररत छन्।
दुवै घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।