नेकपा एमालेमाथि पोखरामा जेनजी कार्यक्रम बिथोल्ने प्रयासको आरोप
काठमाडौँ — नेकपा एमालेमाथि पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लागेको छ।
द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने तयारी गरेसँगै एमालेले कार्यक्रम बिथोल्न प्रयास गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएका हुन्। गुरुङले भने, “पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबासँग भेटघाट गर्न हामी पोखरा निस्कियौं। हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।”
तर, गुरुङले यसले आफ्नो कदम रोक्न नसक्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, “हिजो देशका लागि लडेका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन।”