आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारी ठगी, तीन जना पक्राउ
४ पुस, काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भएका २५ वर्षीय साइरज सुबेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्रले अल्बानिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ तथा साइरजले अमेरिका पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ।
पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरजलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।