मधेश मुख्यमन्त्री विवाद : यादव नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ
काठमाडौं — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर रिटमा सोमबार सुनुवाइ हुने भएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दा आजका लागि पुनः सुनुवाइका लागि सूचीबद्ध गरिएको हो।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका मुद्दा र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरूले दायर गरेका तीनवटै रिटमाथि सर्वोच्चले यसअघि नै अन्तरिम आदेश जारी गरिसकेको छ।
अदालतले जारी गरेको अन्तरिम आदेशमार्फत मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न–नगराउन निर्देशन दिएको थियो।
विवाद तत्कालीन प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि चुलिएको हो। सो नियुक्तिको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै रिट दायर भएपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।
यो प्रकरणको आज हुने सुनुवाइलाई मधेश प्रदेशको समग्र राजनीतिक दिशानिर्देशका दृष्टिले महत्वपूर्णरूपमा हेरिएको छ।