प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताबीच आज छलफल
प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पहिलोपल्ट औपचारिक छलफल हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा मंगलबार दिउँसो हुने उक्त छलफल जेनजी आन्दोलनपछि पहिलो सामूहिक भेटवार्ता हो। राष्ट्रपति पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।
राष्ट्रपति सचिवालयका अनुसार दिउँसो ३ बजे हुने छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्। सोही छलफलमा प्रधानमन्त्री कार्कीलाई पनि उपस्थित हुन बोलाइएको राष्ट्रपति सचिवालयले पुष्टि गरेको छ।
छलफलमा पछिल्लो राजनीतिक अवस्थासहित समसामयिक राष्ट्रिय विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।