रूसी राष्ट्रपति पुटिन दुई दिने भारत भ्रमणमा, आज नयाँदिल्ली आगमन
१८ मंसिर, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आउँदै छन्। उनका लागि नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पुटिन भारतीय समयअनुसार अपराह्न ४ बजे दिल्ली पुग्ने कार्यक्रम छ।
पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धदेखि विभिन्न अन्तर्राष्ट्रिय मुद्दासम्म छलफल गर्नेछन्। शुक्रवार उनलाई औपचारिक स्वागत गरेपछि २३औँ भारत–रूस शिखर वार्ता सुरु हुनेछ। मोदीले हैदराबाद हाउसमा पुटिन र उनको टोलीका लागि दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। पुटिनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्।
शिखर वार्तामा रूसी कच्चा तेल खरिदका कारण भारतलाई परेको व्यापार घाटा, अमेरिकी प्रतिबन्धको प्रभाव, तथा युक्रेन युद्धबारे पुटिनले मोदीलाई जानकारी गराउने विषयमा चर्चा हुने बताइएको छ। बैठकका क्रममा श्रम, रक्षा, व्यापार, शिक्षा, कृषि र संस्कृतिसम्बन्धी विभिन्न सहमति हुन सक्ने अधिकारीहरूले बताएका छन्।
भारतले फार्मा, कृषि, खाद्य तथा उपभोक्ता वस्तुहरूमा रूसतर्फ निर्यात विस्तारको अपेक्षा राखेको छ। रूसले हरेक वर्ष भारतलाई ३०–४० लाख टन मल निर्यात गर्दै आएको छ। बिहीबार दुवै देशका रक्षामन्त्रीबीच एस–४०० मिसाइल प्रणाली, लडाकु विमान उन्नयन र अन्य सैन्य सामग्री खरिदबारे कुराकानी हुनेछ।
भारत–रूस वार्षिक शिखर बैठक २२ पटक भइसकेको छ। पुटिन सन् २०२१ मा पछिल्लोपटक भारत आएका थिए भने गत वर्ष प्रधानमन्त्री मोदी शिखर सम्मेलनका लागि मस्को गएका थिए। पुटिन शुक्रबार राति साढे ९ बजे भारतबाट प्रस्थान गर्ने कार्यक्रम छ।