लैनचौरमा कारको ठक्करबाट मृत्यु हुने भारतीय नागरिकको पहिचान खुल्यो
काठमाडौँको लैनचौरस्थित केशरमहल अगाडिको सडकमा मंगलबार अपराह्न भएको कार दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक ३४ वर्षीय शेख साखिर रहेको खुलेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार साखिर १० वर्षदेखि नेपालमा बस्दै आएका थिए र काठमाडौँको धोबीचौरमा घर निर्माण मजदुरका रूपमा कार्यरत थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका पनि घाइते भएका छन्। कारले दुई जनालाई ठक्कर दिएपछि केशरमहलको पर्खालमा गएर ठोक्किएको प्रहरीले जनाएको छ।