सभामुख घिमिरेद्वारा निर्वाचनमा अविश्वास, निजी क्षेत्रमा लगानी चुनौतीपूर्ण
विर्तामोड, २० मंसिर – सभामुख देवराज घिमिरेले निर्वाचनको विषयमा दलहरूबीच अविश्वास बढिरहेको बताएका छन्। वीरता जेसिज विर्तामोडको आयोजना गरेको ‘सङ्कटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्का रहेको उल्लेख गरे।
सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सरकारलाई सामान्य खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था आएको र यस्तो परिस्थितिमा निजी क्षेत्रलाई विश्वासमा लिन आवश्यक रहेको बताए। “अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानीमा हिचकिचाइरहेको छ। सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले लगानी वातावरण बनाउनुपर्छ,” उनले भने।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी र अन्यले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए।