एचआइभी एड्स सङ्क्रमित खुल्दा–नखुल्दा दुबैमा चुनौती
भरतपुर । एचआइभी एड्स सङ्क्रमित व्यक्तिहरूले खुल्दा–नखुल्दा दुबै अवस्थामा समस्याको सामना गर्नुपरेको पाइएको छ। खुल्दा रोजगारी र परिवारमा समस्या आउँछ भने नखुल्दा स्वास्थ्य सेवा र उपचारमा कठिनाइ हुने स्थानीय सङ्क्रमितहरूले बताएका छन्।
माडी नगरपालिकाकी अस्मिता महतोले खुल्दा रोजगारी नपाएको र नखुल्दा सेवा नपाएको गुनासो गरिन्। उनले भनिन्, “खुल्दा पनि समस्या, नखुल्दा पनि समस्या, कसरी काम गर्ने?” भरतपुरका ५६ वर्षीया अम्बिका देवकोटा भने अहिलेसम्म सङ्क्रमित खुल्न नसकेर व्यवसाय गुमाउनुपरेको बताइन्। कालिका नगरपालिकाकी अस्मिता सुवेदीले सुरुवाती समयमा परिवारबाट समेत दुर्व्यवहार सहनुपरेको अनुभव सुनाइन्।
बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्यले खुल्न नसक्दा समाजमा अलग्गिएर बस्नुपरेको बताए। खुलेर आउँदा सुरुवातीमा समस्या भए पनि अहिले समाजसँग मिलेर एड्ससँग लड्न सकिने उनको भनाइ छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले सन् २०३० सम्ममा एचआइभी एड्स सङ्क्रमण शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको बताए। एएचएफ नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले सङ्क्रमितलाई समाजले सहज रूपमा लिँदा रोग नियन्त्रणमा सहजता हुने बताएका छन्।