एमाले च्यासल कार्यालयमा कार्यकर्ताबीच झडप
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार पार्टीका कार्यकर्ताबीच हातहालाहाल भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालय पुगेका थिए।
उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना माग राखेका थिए। तर सो क्रममा च्यासलमै अर्को समूहसँग उनीहरूको झडप भएको थियो।
एमालेको महाधिवेशन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने तय छ। देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन्। असन्तुष्ट महासंघका नेताहरूले प्रतिनिधि छनोटको लोकतान्त्रिक प्रक्रिया पूरा नभएको भन्दै डेढ वर्षदेखि विधि नमिलाएकोमा चर्को स्वरमा आपत्ति जनाएका थिए।