विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, सेतीवेणी क्षेत्रमा बाढीको जोखिम बढ्यो
पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला लगातारको वर्षापछि आएको बाढीका कारण डुबानमा परेको छ। दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला तथा आसपासका संरचना पानीमुनि परेका हुन्।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो, सत्तल र परिक्रमास्थलसमेत डुबानमा परेका छन्। कालीगण्डकी नदीको बहाव बढेपछि शालिग्राम शिला पूर्ण रूपमा पानीले ढाकिएको उनले बताए।
डुबानका कारण शिला क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित भएका छन् भने नियमित पूजापाठ र दर्शनका लागि आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्।
स्थानीय तिलक पराजुलीका अनुसार कालीगण्डकी र सेतीखोलाको उच्च बहावका कारण शिला परिक्रमास्थल पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। यद्यपि हालसम्म आसपासका बस्तीमा तत्काल कुनै खतरा नरहेको उनले बताए।
शालिग्राम क्षेत्रका सत्तललगायत अन्य संरचनासमेत डुबानमा परेका छन्। शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि सुरक्षाका लागि शिलामा दर्शन गर्न जान रोक लगाइएको छ।
उता, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सीमामा पर्ने सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको स्थानीयले बताएका छन्। नदीको बहाव बढेसँगै पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा रहेका करिब दुई सय व्यापारी तथा स्थानीयवासी त्रसित बनेका छन्।
दुई वर्षअघि साउनमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुर्याएको स्मरण गर्दै गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म जोखिम कायम रहने बताए। उनले गुल्मीतर्फबाट नदीको बहाव मोडेर शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।
विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय गरी सेतीवेणी क्षेत्रको दीर्घकालीन संरक्षणका लागि पहल गर्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय पर्वतले निरन्तरको वर्षासँगै सेतीवेणी क्षेत्रसहित विभिन्न नदी तथा खोलामा बाढी र पहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरी निरीक्षक राजन पटेलले जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले सुरक्षित रहन अनुरोध गरेका छन्।