हङकङमाथि १८१ रनको फराकिलो जितसँगै नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
काठमाडौं — एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेता बनेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मङ्गलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३० रन मात्र बनाउन सक्यो।
हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। नेपालकी कप्तान सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ तथा कृश्मा गुरुङ र स्नेहा महराले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रनको विशाल योगफल बनाएको थियो। कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ्स खेलिन्। सावित्री धामीले ५२ रनको अर्धशतकीय योगदान दिइन् भने अलिशा यादव २३ रनमा अविजित रहिन्।
नेपालले यू–१९ स्तरमा बनाएको यो दोस्रो सर्वाधिक योगफल हो भने जारी प्रतियोगिताकै सर्वाधिक स्कोरसमेत हो। यसअघि सन् २०२५ को महिला यू–१९ टी–२० विश्वकप छनोटमा नेपालले कुवेतविरुद्ध २१३ रन बनाएको थियो।
हङकङका लागि निमरा अरबले २ तथा वोङ विङ र आरुज फातिमाले १–१ विकेट लिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रनले र दोस्रो खेलमा सिङ्गापुरलाई १५१ रनले पराजित गरेको थियो। समूह चरणका तीनवटै खेल जित्दै नेपाल अब उपाधि यात्राका लागि क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।