अर्थतन्त्रमा सुशासन, लगानी र सही सूचना आवश्यक : अर्थमन्त्री खनाल
काठमाडौँ — अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुका कारणको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड समारोहमा बोल्दै उनले राजनीतिक अस्थिरता र असन्तुष्टिले विकास र आर्थिक क्रियाकलाप प्रभावित भएको बताए।
खनालले प्रविधिको विस्तारसँगै सूचनाको प्रामाणिकता झनै महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै गलत सूचना र भ्रमले अन्तर्राष्ट्रिय छवि तथा लगानी वातावरणमै असर पार्ने चेतावनी दिए। सही सूचना र सकारात्मक सन्देशले निजी क्षेत्रको मनोबल बलियो बन्ने बताउँदै उनले जिम्मेवार पत्रकारिताको महत्व औँल्याए।
सरकार ठूलो पूर्वाधारका आयोजना अगाडि बढाइरहेको उल्लेख गर्दै खनालले पुँजी बजार, पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधा र नियमन प्रणालीलाई व्यवस्थित गर्ने काम भइरहेको जानकारी दिए।
कार्यक्रममा उद्योगमन्त्री अनिलकुमार सिन्हाले आर्थिक सबलीकरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना आगामी दिनमा सरकारका मुख्य लक्ष्य हुने बताए। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिप्रति सरकार जिम्मेवार रहेर काम भइरहेको उनको भनाइ थियो।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले हालको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताए। पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि ठूलो पूर्वाधारमा लगानी विस्तार नहुनु चिन्ताको विषय भएको उनले उल्लेख गरे। कर्जा विस्तारलाई कृषि, ऊर्जा, पर्यटन र उद्योगमा केन्द्रित गर्नुपर्नेमा पनि उनको जोड रह्यो।
निजी क्षेत्रका प्रतिनिधिहरूले भने गलत सूचना, अनिश्चितता, सुरक्षा अभाव र नीति अस्थिरताले लगानीमा गम्भीर असर पारेको औँल्याए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका बेला फैलिएका भ्रमपूर्ण सूचनाले निजी क्षेत्रमाथि ठूलो असर पारेको बताए।
उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानीकर्ताको मनोबल खस्किँदै गएको भन्दै तत्काल सुधारात्मक कदम चाल्न सरकारलाई आग्रह गरे। कर्जा पुनःसंरचना, भ्याट सरलीकरण, अन्तःशुल्क दर घटाउने, निर्यात अनुदान निरन्तरता र सहकारी संकट समाधानका लागि कानुन निर्माण आवश्यक रहेको सुझाव उनीहरूले दिए।
समारोहमा सहभागी वक्ताहरूले सुशासन, सही सूचना, स्थिर नीति र लगानीमैत्री वातावरण तयार पार्न सकिए मात्र अर्थतन्त्रले दिगो गतिको प्राप्ति गर्न सक्ने निष्कर्ष निकाले।