डिम्ब तस्करी प्रकरणमा सर्वोच्चमा रिट, होप फर्टिलिटी सञ्चालकविरुद्ध मुद्दा अघि बढाउने माग
काठमाडौँ — डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। दुई पीडित बालिकाका तर्फबाट अधिवक्ता अंकिता त्रिपाठीले परमादेशको माग गर्दै दायर गरेको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।
रिटमा महान्यायाधिवक्ता कार्यालयले अभियोजन नगर्ने निर्णय बदर गरी प्रतिवादीहरूविरुद्ध शरीर बन्धक, बालबालिकासम्बन्धी अपराध, जबरजस्ती करणी र अन्य आपराधिक कार्यमा कानुनी कारवाही अघि बढाउन आदेश दिन माग गरिएको छ। यसमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय (पाटन), महान्यायाधिवक्ताको कार्यालय र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी) विपक्षी बनाइएका छन्।
पीडित बालिकाका अनुसार होप फर्टिलिटी डाइग्नोस्टिक प्रालिले आर्थिक प्रलोभन र झुक्यानमा पारेर उनीहरूको डिम्ब निकालेर निःसन्तान दम्पतीलाई बेचबिखन गरेको आरोप छ। प्रहरीले यसअघि बबरमहलस्थित होप फर्टिलिटी र महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान अघि बढाएको थियो। तर सरकारी वकिल कार्यालयले मुद्दा अघि बढाउने तयारी गर्दा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि फाइल बन्द भएको थियो।
यस रिटमार्फत अदालतबाट छिटोभन्दा छिटो अभियोगपत्र दायर गरी दोषीहरूविरुद्ध कानुनी कारवाही अघि बढाउने आदेशको माग गरिएको छ।