यो साता नेप्से २३.८ अंकले घट्यो, सेयर बजार साइडवेजमा सीमित
काठमाडौँ । यस साता नेप्से परिसूचक (NEPSE) २३.८ अंकले घट्दै ३० अर्ब रुपैयाँ पुँजीकरणमा सीमित भएको छ। पाँच कारोबार दिनमध्ये चार दिन बजारमा गिरावट आएको छ।
बजार विश्लेषण अनुसार आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार ३.०२ अंकले घट्दा, मंगलबार ७.३९ अंकले सुधार भयो। तर बुधबार र बिहीबार क्रमशः ५.०३ र १.६६ अंकले घट्यो।
कारोबारका आधारमा पनि यो हप्ताको अवस्था सुखद रहेन। पाँच दिनको कारोबार २० अर्ब ७७ करोड रुपैयाँमा सीमित रह्यो, जबकि गत साता चार दिनमा २१ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो।
बजारका १२ समूहमध्ये २ समूहको मूल्य बढेको छ। म्यानुफ्याक्चरिङले २.३९ प्रतिशत र जीवन बीमा समूहले ०.६९ प्रतिशत मूल्य बढाएको छ। फाइनान्स समूहले सर्वाधिक २.५६ प्रतिशत मूल्य गुमाएको छ। म्युचुअल फन्ड बाहेक बाँकी समूह १ प्रतिशत भन्दा बढीले घटेको छ।
विश्लेषकहरूका अनुसार, सेयर बजार नीतिगत रूपमा खुला छ र बैंकिङ स्रोतको प्रयोगका अवसर बढ्दै गए पनि आर्थिक अवस्था र राजनीतिक अन्योलताले बजार कमजोर बनाएको छ। ठुलो उतारचढाव नआउँदा बजार साइडवेजमा सीमित रहेको देखिन्छ। लाभांशको सिजन सकिँदै गएकाले पनि बजार सुधारमा असर पुगेको छ।