ईश्वर पोखरेलको अवधारणापत्रले एमाले नेतृत्व र आन्तरिक अभ्यासमाथि कडा प्रश्न उठायो
२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले महाधिवेशनका लागि प्रस्तुत गरेको अवधारणापत्रले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीदेखि पार्टीभित्रको निर्णय प्रक्रिया, वैचारिक अभ्यास र संगठनात्मक जीवनसमेतमाथि गम्भीर प्रश्न खडा गरेको छ।
पोखरेल समूहले प्रस्तुत गरेको ६ बुँदे आलोचनात्मक विश्लेषणमा पार्टीभित्र संस्थागत भएका कमजोरीहरूलाई सूक्ष्म रूपमा चित्रण गर्दै ‘आन्तरिक लोकतन्त्रको ह्रास’, ‘शक्ति केन्द्रीकरण’, ‘नेतृत्व हस्तान्तरणमा अवरोध’, ‘पार्टी–सरकार–जनता सम्बन्ध बिथोलिनु’, ‘पार्टी चुनावमुखी बन्नु’ र ‘विचार–व्यवहारको विरोधाभास’ प्रमुख समस्याका रूपमा प्रस्तुत गरिएको छ।
पोखरेलले पार्टीभित्र नियमित बहस हराउनु, भिन्न मतप्रति असहिष्णुता बढ्नु र निर्णय प्रक्रियामा केही व्यक्तिको नियन्त्रण हुनु मार्क्सवादी पार्टीका लागि ‘आत्मघाती’ भएको टिप्पणी गरेका छन्।
उनका अनुसार केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरोका बैठक समयमै नबोलाइनु वा केवल औपचारिकतामा सीमित हुनुले भयमुक्त राजनीतिक वातावरण नै हरायो।
पोखरेल समूहले ओलीको नेतृत्वमा निर्णयहरू सचिवालयमै सीमित भई पछि मात्र कमिटीबाट अनुमोदन गरिनुले नेतृत्व एक व्यक्तिमै केन्द्रित बन्न गएको आरोप लगाएको छ।
शक्ति पृथकीकरण, सन्तुलन र बहुदलीय जनवाद (जबज) का मूल सिद्धान्तहरू व्यवहारमा लागू हुन नसकेको निष्कर्ष अवधारणापत्रले निकाल्छ।
युवा पुस्तालाई वास्तविक जिम्मेवारी नदिइनु, उमेर सीमा वा कार्यकाल सीमा लागू नहुनु र स्वेच्छिक अवकाशको व्यवस्था नबनाइनुले ‘पुरानो पुस्ताकै नियन्त्रण’ निरन्तर रहिरहेको पोखरेलको आरोप छ।
त्यसको परिणामस्वरूप गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र षड्यन्त्रपूर्ण क्रियाकलाप बढेको उल्लेख गरिएको छ।
सरकारमाथि अत्यधिक निर्भर संगठनात्मक संरचनाले पार्टीको स्वायत्त भूमिका कमजोर भएको र मधेश प्रदेशमा सरकार परिवर्तनका क्रममा देखिएको विग्रहले एमालेको नैतिक प्रतिष्ठालाई ठेस पुर्याएको पोखरेल समूहको दाबी छ।
उनका अनुसार जनसंगठनहरू औपचारिक खोल मात्र बने, प्रभावकारी संरचनाको रूपमा विकास हुन सकेनन्।
अवधारणापत्रले पार्टी चुनावबाहेक सडक, संघर्ष र अभियानमा सक्रिय नदेखिनु, वैचारिक काम कमजोर हुनु, र आलोचना–आत्मालोचनाको संस्कृति हराउनु मुख्य समस्या भएको बताएको छ।
सीमित नेताहरूले निर्णय गरेर त्यसलाई कमिटीबाट औपचारिक पारित गराउने प्रवृत्तिले संगठनमा सकारात्मक ऊर्जा कमजोर भएको निष्कर्ष छ।
बहुदलीय जनवाद र समाजवादको लक्ष्य बोलिए पनि व्यवहारतः केन्द्रीकरण, सत्तामुखी चिन्तन र आर्थिक अनुशासनको कमी देखिएको पोखरेल समूहको टिप्पणी छ।
ओली नेतृत्वमा पार्टीका असल अभ्यास कमजोर भएको र नेताहरूको जीवनशैली जनपक्षीय वैचारिक अनुशासनसँग मेल नखाएको आरोप लगाइएको छ।
‘सब ठीक छ’ भन्ने मानसिकता पतनको सुरुवात भएको भन्दै पोखरेलले लेनिनको भनाइ उद्धृत गर्दै गहिरो आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्।