सीके राउतको अभिव्यक्तिप्रति जनमत प्रदेश अध्यक्षको आपत्ति
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले दिएको अभिव्यक्तिप्रति प्रदेश अध्यक्षले नै आपत्ति जनाएका छन् । मंगलबार कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै राउतले मधेस विभाजनसम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
अध्यक्षको व्यक्तिगत अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको समेत उनले बताए ।
उनले भने,'जनमत पार्टीको मूल सिद्धान्त, नीति र उद्देश्य सङ्घीयता, समान अधिकार, समावेशिता र न्यायपूर्ण प्रतिनिधित्वमा आधारित छ । मधेस तथा सम्पूर्ण नेपाली जनताको अधिकार सुरक्षाका लागि हाम्रो सङ्घर्ष एकीकृत राष्ट्रिय भावनामा केन्द्रित रहेको छ । देश विभाजन वा क्षेत्रीय विखण्डन हाम्रो पार्टीको एजेन्डा कहिल्यै थिएन र छैन पनि । अध्यक्षज्यूको व्यक्तिगत अभिव्यक्ति पार्टीको आधिकारिक धारणा होइन भन्ने कुरामा म स्पष्ट छु ।'
जनमत पार्टी सदैव कार्यकर्ता, समर्थक तथा जनतासँग एकता, सहकार्य र साझा राष्ट्रिय हितका लागि अडिग रहने बताए । अध्यक्ष राउतले देश नै विखण्डन गर्ने खालको माग राखेर संविधानलाई नै चुनौती दिएको समेत न्यौपानेले बताए ।
जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचारविरुद्ध आन्दोलनमा सहादत भएका सहिदहरूको रगत सेलाउन नपाउँदै संसद् पुनःस्थापना हुनुपर्छ भन्ने राउतको अभिव्यक्ति भ्रष्टाचार र कुसाशन विरुद्ध उठेको जनआन्दोलनको मर्म विपरीत रहेको समेत उनले बताए ।
पछिल्लो समय सोही आन्दोलनबाट अपदस्थ व्यक्तिहरूसँग राउतले गरेका भेटघाटहरू आन्दोलनको भावना प्रतिकूल र शङ्कास्पद देखिएको समेत उनले बताए ।
अध्यक्ष राउतले सोमबार सामाजिक सञ्जालमार्फत मधेसलाई पूर्ण स्वायत्तताको आन्दोलन जरूरी रहेको बताएका थिए ।