विश्व भोकमरी सूचकाङ्क २०२५: नेपालमा सुधार, दक्षिण एसियामा दोस्रो कम भोकमरी
काठमाडौँ । विश्व भोकमरी सूचकाङ्क २०२५ को वार्षिक प्रतिवेदन अनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको छ। १२३ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ।
सूचकाङ्कअनुसार नेपालमा कूल जनसङ्ख्याको ५.३ प्रतिशत कुपोषित रहेको छ। पाँच वर्षमुनिका बालबालिकामध्ये २६ प्रतिशत कमजोर र दुब्ला, ७ प्रतिशत बालबालिकाको हुर्काइबढाईमा समस्या रहेको देखिएको छ। जन्मिएको पाँच वर्षभित्र २.६ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ।
भोकमरीको अवस्था ०–९ अंकसम्म नरहेको, १०–१९ मध्यम, २०–३४ गम्भीर, ३५–४९ चिन्ताजनक र ५० भन्दा माथि भयानक मानिन्छ। नेपालको भोकमरी सूचक १४.८ रहेकाले मध्यम अवस्थामा रहेको देखिन्छ। सन् २००० मा नेपालमा यो सूचक ३७ थियो।
दक्षिण एसियामा नेपाल भोकमरी कम रहेको देशमध्ये दोस्रो स्थानमा छ। भारत २५.८ अंकसहित १०२ औँ, पाकिस्तान २६.१ अंकसहित १०६ औँ, श्रीलङ्का ११ अंकसहित ६१ औँ र बङ्गलादेश १९.२ अंकसहित ८५ औँ स्थानमा रहेको छ।
विश्वमा भोकमरीको चरम अवस्था सोमालियामा देखिएको छ, जहाँ सूचक ४२.६ रहेको छ। भोकमरीको अवस्था नरहेको वा न्यूनतम रहेको २५ देश पनि सूचीकृत छन्।