सिमरा विमानस्थल आजदेखि सामान्य सञ्चालनमा, जेनजी आन्दोलनपछि सुरक्षा कडा
बाराको सिमरा विमानस्थल बुधबारको जेनजी आन्दोलनपछि आज शान्तिपूर्ण ढंगले सञ्चालनमा आएको छ। विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार बिहानदेखि नै सबै उडान नियमित रुपमा सञ्चालन भइरहेका छन्।
बुधबार जेनजी युवाहरूले एमाले नेता महेश बस्नेतको आगमनलाई लिएर विमानस्थल घेराउ गर्दै मुलगेटमा तोडफोड गरेका थिए, जसका कारण दिनभर विमानस्थल बन्द रह्यो। त्यस दिन एउटा बाहेक सम्पूर्ण उडान स्थगित हुनुपरेको थियो।
आज सुरक्षा निकायसँग समन्वय गर्दै विमानस्थलमा थप सुरक्षा व्यवस्था मिलाइएको र दिउँसो २:३० बजेसम्म तेस्रो उडान पनि सफलतापूर्वक भइसकेको विमानस्थल प्रमुख अधिकारीले जानकारी दिए। उनले विमानस्थलमा हुलहुज्जत र प्रदर्शन नगर्न अनुरोध गर्दै भने, “अति संवेदनशील क्षेत्रको रुपमा विमानस्थलमा यस्तो गतिविधिले अन्तर्राष्ट्रिय जगत र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश पुग्छ र राज्यलाई आर्थिक क्षति पुर्याउँछ।”
बुधबार उडान नभएका यात्रुहरूका लागि टिकट रकमको पूर्ण फिर्ताको व्यवस्था गरिएको छ। अधिकारीले हिजोको असुविधाका लागि यात्रुहरूबाट क्षमा पनि मागेका छन्।