रौतहटमा माइकको तार जडान गर्दै गर्दा करेन्ट लागेर युवाको मृत्यु
रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा एक युवकको माइकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मंगलवार राति करेन्ट लागी गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार राति करिब पौने १० बजे रामबहादुर महतोका छोरा गणेश महतो आफ्नै घरमा माइकको तार जडान गर्दै थिए। सोही क्रममा उनी अचानक विद्युत् प्रवाहमा परे र गम्भीर घाइते भए। तत्कालै उनलाई नेशनल हस्पिटल विजयपुरमा प्रारम्भिक उपचार गरियो, भने थप उपचारका लागि कोल्हवी, बारातर्फ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको अस्पतालले राति ११:५५ बजे प्रहरीलाई जानकारी गराएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले पुष्टि गरेका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।