बिहार चुनावमा पराजयपछि शशि थरुरले कांग्रेसमा आत्मसमीक्षा आवश्यक बताए
२८ कात्तिक, काठमाडौं । बिहार चुनावमा गम्भीर पराजयपछि भारतीय कंग्रेस पार्टीका नेता शशि थरुरले नतिजा निराशाजनक भएको भन्दै गहिरो आत्मसमीक्षा आवश्यक भएको बताएका छन् ।
कंग्रेस सांसद समेत रहेका थरुरले भने, ‘यो स्पष्ट छ कि एनडीएले अत्यधिक अग्रता लिएको छ। यो निश्चित रूपमा गम्भीर निराशाजनक छ र यदि यही अन्तिम नतिजा साबित भयो भने, मलाई लाग्छ कि केही धेरै गहन आत्मनिरीक्षण गर्नुपर्नेछ।’
उनले यो नतिजाले सामान्य समीक्षाले नपुग्ने देखाएको संकेत गरेका छन् । ‘मेरो मतलब केवल बसेर सोच्नु मात्र होइन, बरू के गल्ती भयो— के-के कार्यनीतिगत, सन्देश प्रवाहसम्बन्धी वा संगठनात्मक त्रुटिहरू थिए— भनेर अध्ययन गर्नु पनि हो,’ उनले भने ।
उनले थपे, ‘म बिहारमा प्रचार गर्ने व्यक्ति होइन। मलाई प्रचारका लागि निमन्त्रणा गरिएको थिएन, त्यसैले म तपाईंलाई कुनै पनि प्रत्यक्ष जानकारी दिन सक्दिनँ। तर, मैले मानिसहरूसँग कुरा गरिरहेको छु… हाम्रो पार्टीका नेताहरूले कहाँ गल्ती भयो भनेर धेरै गम्भीर विश्लेषण गर्नुपर्छ ।
एनडीए गठबन्धनले शुक्रबार साँझ विजय जुलुस निकाल्ने तयारी गरिरहेका छन् ।
बिहारमा मतगणना जारी छ । २४३ सिटका लागि भएको निर्वाचनमा एनडीए गठबन्धनले १९८ सिटमा अग्रता कायम गर्दा महागठबन्धन केवल ३८ सिटमा अगाडि देखिएको छ । अन्य उम्मेदवारहरूले केवल ७ ठाउँमा अग्रता हासिल गरिरहेका छन् ।