क्षयरोग नियन्त्रणमा सरकारको उदासीनता बढ्दो जोखिम : सरोकारवालाको चेतावनी
विराटनगर — नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त ध्यान नदिँदा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको भन्दै सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्। ७२औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा विज्ञ तथा चिकित्सकहरूले क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न राज्यलाई आग्रह गरेका हुन्।
कार्यक्रममा विज्ञ डा. नारायण कुमारले नेपालमा अस्पताल, समुदाय तथा घरमै उपचार गर्ने विश्वव्यापी मान्य र प्रभावकारी विधि पूर्ण रूपमा अवलम्बन हुन नसक्दा क्षयरोगका बिरामी बढ्दै गएको बताए। क्षयरोग पूर्ण रूपमा निको हुने रोग हुँदाहुँदै पनि ढिलो पहिचान र समयमै उपचार नहुनु मुख्य चुनौती रहेको उनले बताए।
कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार नेपालमा करिब ७० हजार क्षयरोगीमध्ये ४३ हजार मात्र सरकारी तथ्यांकमा पहिचान भएका छन्। बाँकी हजारौँ संक्रमित पहिचानबाहिर रहेकाले संक्रमण तीव्र गतिमा फैलिरहेको सरोकारवालाले उल्लेख गरे। यस्तै, प्रत्येक वर्ष करिब १७ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने तथ्य पनि सार्वजनिक गरिएको थियो, जसले देशको स्वास्थ्य क्षेत्रमा थप चुनौती बढाएको छ।
क्षयरोग नियन्त्रण तथा निवारणमा सक्रिय नेपाल क्षयरोग निवारण संस्थाले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गर्दछ।