मधेस प्रदेश मुख्यमन्त्री नियुक्ति विवाद : ७४ सांसदको रिटमा आज सर्वोच्चमा पेसी
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिट सुनुवाइका लागि सूचीकृत भएको हो।
संविधानको धारा १६८(३) अनुसार गठन भएको सरकारविरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै गत मंगलबार रिट दायर गरेका थिए।
यसअघि, न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री सरोज यादवलाई प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। रकी प्रसाद साहले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२)(क) बमोजिम जारी भएको आदेशमा रिटको संवेदनशीलता र सार्वजनिक महत्वलाई ध्यानमा राख्दै कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने व्यवस्था गरिएको छ। यसैअनुसार अन्तिम सुनुवाइ मंसिर ११ गतेका लागि तोकिएको छ।