अर्थमन्त्री खनालले परिवारिक स्वकीय सचिव नियुक्ति विरोध गरे
काठमाडौं, ९ मंसिर – अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रणाली बाहिरबाट आफ्ना नातेदारलाई स्वकीय सचिव बनाउनु सुशासन विपरीत हुने बताएका छन्।
मन्त्री खनालका अनुसार सरकारी कर्मचारीभन्दा बाहिरका व्यक्तिलाई स्वकीय सचिव राख्दा संस्थागत स्मृति कायम नहुने, दुरुपयोगको जोखिम बढ्ने र मन्त्रालय वा निकायमा काम गर्दा डकुमेन्टेसन व्यवस्थित रूपमा रहन नसक्ने खतरा हुन्छ।
आफ्नो मन्त्रालयमा निजी सचिवालय विघटन गरिसकेको खनालले अब आफ्ना स्वकीय सचिवलाई मन्त्रालयभित्रकै बहालवाला कर्मचारीबाट मात्रै राख्ने बताए। यसले संस्थागत स्मृति कायम राख्न र सुशासन लागू गर्न मद्दत पुग्ने उनको तर्क छ। आन्दोलनकारी जेनजीले पनि स्वकीय सचिवमा बाहिरका नातेदार राख्न नहुने माग उठाएको र यसै आधारमा नीति निर्माण भएको उनले बताए।
यसबीच, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठको कार्यालयमा आफ्नी श्रीमती र नजिकका नातेदारलाई नियुक्त गरेको विषयमा विवाद भइरहेको छ।