दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१३ मंसिर, दाङ — दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शुक्रबार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको रा २ प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही–१० नारायणपुरस्थित पशुपति बोर्डिङ स्कुल नजिक ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि अस्पताल लगिएकोमा शनिबार मृत्यु भएको प्रहरीको भनाइ छ।
ठक्कर दिने पिकअप भ्यान र उसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको छ।