जलेर नष्ट भएका सामग्री शिक्षा मन्त्रालयद्वारा लिलाममा बिक्री
काठमाडौँ, १४ मंसिर।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी समूहको आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका सामग्रीहरू लिलाममा बिक्री गर्ने भएको छ। मन्त्रालयले तीन दिनभित्र १ हजार ९५५ रुपैयाँ नगद धरौटीसहित इच्छुकले निवेदन दिन सक्ने सूचना जारी गरेको छ।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा जलेर अवशेष बनेका फलाम, स्टिल, पत्रु सामग्री, मेशिनरी तथा फर्निचरका सामानहरू जे जस्तो अवस्थामा छन्, त्यसरी नै लिलाम बिक्री गरिनेछ। मन्त्रालयले लिलाम बढाबढको लागि पनि आह्वान गरेको छ।
सूचनामा उल्लेख भए अनुसार, लिलामीका लागि १,२१६.५ केजी फलाम, ११७ केजी कम्प्युटर मोनिटरलगायतका सामग्री र ८४.४५ केजी कचरा उपलब्ध गराइनेछ। लिलामको न्यूनतम मूल्य ३९ हजार ८८ रुपैयाँ तोकिएको छ।