देशभरका विभिन्न सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
सिराहा सुखीपुर नगरपालिका–८ मा प्र.२–०१–००१ ह ०१२० नम्बरको अटोले ठक्कर दिँदा ५५ वर्षीय दिलिप राम गम्भीर घाइते भएका थिए। रामको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्वको मध्यबिन्दु–८ मा बा.प्र.०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई सु.प्र.०२–००१ ख १३७१ नम्बरको बसले ठक्कर दिँदा २६ वर्षीय शिबजी अगस्तीको मृत्यु भएको छ। घाइते अगस्ती मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गुमाएका हुन्। बस चालक पक्राउ गरिएको छ।
सल्यान छत्रेश्वरी–५ कोलचौरमा रा.१ त २४३८ नम्बरको ट्र्याक्टर दुर्घटनामा २५ वर्षीय देवेन्द्र सिंह घटनास्थलमै मृत्यु भएका छन्।
तनहुँ आँबुखैरेनी–३ मा से.१ च ६५१ नम्बरको बोलेरो जिप दुर्घटनामा ३१ वर्षीय पुष्पलाल गुरुङको मृत्यु भएको छ। अन्य घाइतेको उपचार चितवनस्थित एलाइभ अस्पतालमा भइरहेको छ। जिप चालक नियन्त्रणमा छन्।
रूपन्देही देवदह–७ मा लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बसले ठक्कर दिँदा २३ वर्षीय शौरव खातीको मृत्यु भएको छ। फरार बस चालकको खोजी भइरहेको छ।
पाल्पा रैनादेवी छहरा–३ मा लु.३ त ३३२ नम्बरको ट्र्याक्टर दुर्घटनामा ६५ वर्षीय मनबहादुर गाहा घटनास्थलमै मृत भेटिएका छन्। चालक नियन्त्रणमा छन्।
जाजरकोट नलगाड–१ चिउरीमा भे.२ त ५७९ नम्बरको ट्र्याक्टर दुर्घटनाले सहचालक ३० वर्षीय कर्णबहादुर विकको ज्यान लिएको छ। चालक पक्राउ गरिएको छ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार यी सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको छ।