हुम्लामा निःशुल्क आँखा शिविर: ६१२ लाभान्वित, ६९ को मोतीबिन्दु शल्यक्रिया
१० मंसिर, सिमकोट, हुम्ला — हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा ६१२ जना सेवाग्राही लाभान्वित भएका छन्। तीमध्ये ६९ जनाको मोतीबिन्दुको शल्यक्रिया पनि निःशुल्क रूपमा गरिएको छ।
नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा र हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा रेडी आई फाउण्डेशनको आर्थिक र प्राविधिक सहयोगमा सम्पन्न सो शिविरमा आँखाको परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण सेवा प्रदान गरिएको छ।
शिविरले हुम्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिका क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक र अन्य दृष्टि समस्याबाट पीडित सेवाग्राहीलाई लक्षित गरेको थियो।
हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीको नेतृत्वमा स्वास्थ्य टोलीले सेवाग्राहीहरूलाई परीक्षण र आवश्यक उपचार उपलब्ध गराएको जानकारी दिइएको छ। डा. पराजुलीले न्यून दृष्टि भएका बालबालिका र फरक क्षमता भएका सेवाग्राहीका लागि थप उपचार र चस्मा वितरणको पनि व्यवस्था गरिएको बताए।
शिविरले सिमकोटमा आँखासम्बन्धी स्वास्थ्य सेवामा पहुँच नपाएका ग्रामीण समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ।