भरतपुरमा भूमिगत विद्युत्करण ८० प्रतिशत सम्पन्न, माघभित्र पूरा गर्ने लक्ष्य
भरतपुर– भरतपुर महानगरपालिका क्षेत्रमा चलिरहेको भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत पूरा भएको छ। आगामी माघ महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्यसहित परियोजना तीव्र गतिमा अघि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले जनाएको छ।
आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार भूमिगत संरचना निर्माण सकेका क्षेत्रमा परीक्षणस्वरूप विद्युत् प्रवाह सुरु गरिएको छ। “अहिले ४० प्रतिशत क्षेत्रमा भूमिगत माध्यमबाट विद्युत् प्रवाह भइरहेको छ,” उनले बताए।
उनका अनुसार हाल केबल बिछ्याउने, ट्रमिनेसन जडान, घरायसी सर्भिस केबल बिछ्याउने तथा ट्रान्सफर्मर पोष्ट निर्माण कार्य भइरहेको छ। सुवेदीले पुस अन्तिम वा माघको दोस्रो सातासम्म सम्पूर्ण काम सक्ने गरी काम अघि बढाइएको जानकारी दिए।
भूमिगत प्रणालीबाट विद्युत् प्रवाह सुरु भए पनि केही समय सडकका पुराना पोल र तार हटाइने छैनन्। गर्मीयाममा विद्युत् भार धान्न सक्ने–नसक्ने परीक्षण गरेर मात्र पोलका तार पूर्ण रूपमा हटाइने सुवेदीले बताए।
पहिले केन्द्रीय बसपार्कबाट गोन्द्राङसम्म केवल ३३ केभीए लाइन मात्र भूमिगत गर्ने योजना रहे पनि अहिले ११ केभीए र ४०० भोल्ट लाइन पनि भूमिगत गर्न थप गरिएको छ। पछिल्लो सम्झौताअनुसार चनौली लाइन जडानसहित महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगत वितरण प्रणाली विस्तार भइरहेको छ।
भरतपुरमा भूमिगत विद्युतीय संरचना निर्माणका लागि कुल १ अर्ब ४० करोड रुपैयाँ लागत छुट्याइएको छ। प्रारम्भिक १ अर्ब ३० करोड बजेटमा काम बढाइएको तर काम थपिएसँगै १० करोड रुपैयाँ बजेट वृद्धि गरिएको हो।
निर्माण कार्यको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको हो। सन् २०२१ अक्टोबरमा ठेक्का सम्झौता हुँदै काम सुरु गरिएको परियोजनामा पहिलो चरणको समय २०२४ जनवरी २० सम्म तोकिएको थियो। तर समयमै काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको छ। अहिले म्याद सन् २०२६ जुलाईसम्म थपिएको छ।
एसियाली विकास बैंक (ADB) को सहकार्यमा नेपाल विद्युत् प्राधिकरणले परियोजना अघि बढाइरहेको छ।