चिकित्सा शिक्षा आयोगद्वारा पिजी कोटा निर्धारण, सरकारी कलेजलाई बढी सिट
काठमाडौँ, १४ मंसिर।
चिकित्सा शिक्षा आयोगको बैठकले देशभरका सरकारी तथा निजी क्याम्पसहरूका लागि पोस्ट ग्रेजुएट (पिजी) अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ। आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकपछि मन्त्रीहरुले दिएको जानकारीअनुसार आगामी सत्रका लागि कलेजहरूको पिजी सिट संख्या औपचारिक रूपमा तोकिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारी र निजी कलेजबीच सिट बाँडफाँडका विषयमा विस्तृत छलफल भएको बताए। उनका अनुसार सरकारी क्याम्पसहरूलाई “एक हजारभन्दा बढी” सिट र निजी क्याम्पसहरूलाई “एक हजारभन्दा केही कम” सिट दिनेगरी प्रारम्भिक विभाजन गरिएको हो। सरकारको यो निर्णयप्रति सरोकारवाला पक्षहरू सकारात्मक रहेको पनि उनले उल्लेख गरे।
आइतबार बसेको बैठक प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकमा आगामी वर्षका लागि पिजी शिक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइएको आयोगले जनाएको छ।