यातायात विभागको डेटा सेन्टर पुनः बिग्रियो, नयाँ लाइसेन्स आवेदन पुनः बन्द
२८ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टर फेरि समस्या आएको छ । यही कारण १६ कात्तिकबाट आंशिक रूपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने सेवा आजदेखि पुनः अनिश्चितकालका लागि बन्द गरिएको विभागले जनाएको छ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन प्रणाली अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो।
२३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको संरचनामा ठूलो क्षति पुगेपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियो। केही दिन आंशिक रूपमा सञ्चालनमा आएको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि सेवाहरू फेरि पूर्ण रूपमा रोकिएका छन्।