इलाममा ट्रक–स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
इलाम, १३ मंसिर — मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ भञ्ज्याङमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आज दिउँसो झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
मृत्यु हुनेमा इलाम नगरपालिका–९ गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापा मगर र माईजोगमाई गाउँपालिका नयाँबजार घर भई हाल इलाम–७ चोकबजार बस्ने १९ वर्षीय छेवाङ शेर्पा रहेका छन्।
दुर्घटनापछि उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। ट्रक चालक इलाम–५ बिब्ल्याटेका २५ वर्षीय रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।