जेनजी आन्दोलनसम्बन्धी ९ जाहेरी तामेलीमा, १०४ दर्ता गरेर अनुसन्धान जारी
९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका घटनासँग सम्बन्धित विभिन्न व्यक्तिविरुद्ध दायर भएका ९ वटा जाहेरी तामेलीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पर्याप्त प्रारम्भिक प्रमाण नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले ती जाहेरी तामेलीमा राख्ने निर्णय गरेको हो।
तामेलीमा पर्नेमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ‘हामी नेपाली’का संस्थापक सुदन गुरुङलगायतको नाम समावेश छ।
विभिन्न कसुरका दाबी गर्दै दर्ता गराइएका ती ९ जाहेरीमा तत्कालै मुद्दा दायर गर्नुपर्ने आधार नपाएको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए।
यस्तै, जेनजी आन्दोलनका क्रममा आएका अन्य १०४ जाहेरी भने दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दर्ता गरिएका जाहेरीमध्ये २२ व्यक्तिगत, ६६ सरकारी कार्यालय तोडफोड एवं आगजनीसम्बन्धी, र १६ संस्थागत तथा व्यापारिक प्रतिष्ठान, अदालत तथा अख्तियारसँग सम्बन्धित छन्।
प्रहरीका अनुसार सबै दर्ता भएका जाहेरीमा आवश्यक अनुसन्धान तीव्र गतिमा अघि बढाइएका छन्।