महोत्तरीमा छुरा प्रहार, ६० वर्षीय वृद्धको हत्या
२ मंसिर, जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिका-९ मा सोमबार साँझ छुरा प्रहारबाट ६० वर्षीय बेचन रायको हत्या भएको छ।
प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार, बेचन रायलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
हत्या आरोपमा धनुषाको नगराइन नगरपालिका-९ का २० वर्षीय अनिलकुमार मण्डल (पप्पु) पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, मण्डल मदिरा र लागुऔषधको नशामा बाटो हिँड्दै गर्दा विवादमा उत्रिएर छुरा प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मण्डललाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।