बारा: पानी उद्योग व्यवस्थापक हत्यामा दुई पक्राउ
बारा — बारामा पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२२ मनियारी बस्ने २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह रहेका छन्।
प्रहरीका अनुसार मुख्य योजनाकार राजनकुमार राम उद्योगमा सवारी चालकका रूपमा काम गर्थे र व्यवस्थापक सिंहसँग पटक–पटक विवाद हुने गरेको थियो। करिब एक वर्षअघि गढीमाई मेलाका बेला गाडीको कलज प्लेट जलेको विषयमा विवाद भएपछि राम उद्योग छाडेका थिए। तर गत १ कात्तिकदेखि फेरि काममा फर्केका उनी १० मंसिरदेखि कामबाट निकालिएका थिए।
राम र प्रमोदले ११ मंसिर साँझ वीरगञ्जमा मदिरा पिउँदै हत्या योजना बनाएका थिए। त्यसपछि वीरगञ्जबाट घरेलु हतियार ल्याई उद्योगभित्रै धारिलो छुरा र ईंट्टा प्रयोग गरी हत्या गरेका हुन्।
घटना भएको १६ घण्टाभित्रै अभियुक्तहरू पर्सा प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी नीरिक्षक खेमप्रसाद नेपालले बताए। पक्राउ परेका दुवैलाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
सर्लाही धनकौल गाउँपालिका–२ घर भई पर्सौनीस्थित उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत सिंहको शव १२ मंसिर बिहान उद्योग नजिकैको खोल्सामा फेला परेको थियो।