चितवनमा जिल्लामा चार महिनामा २९ जनाको मृत्यु : दुईपाङ्ग्रे सवारी दुर्घटना बढी
गत चार महिनामा जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये २१ पुरुष, ६ महिला र २ बालबालिका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म मात्र दुई सय २४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ४५६ जना घाइते भएका छन्। दुर्घटनामा परेका सवारीसाधनमध्ये सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधन रहेको छ। कुल ३३३ सवारीसाधनमध्ये २०१ मोटरसाइकल रहेका छन्।
यस्तै जिप–कार ३४, शारीरिक परिश्रमले चल्ने ३०, ट्रक–ट्याङ्कर २४, बस १५, टेम्पो १४, टिपर २, माइक्रोबस ५, ट्याक्टर ४ तथा अन्य ४ सवारीसाधन रहेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा २०५ वटा दुर्घटना भएका थिए। यस वर्ष दुर्घटना संख्या बढेर २२४ पुगे पनि मानवीय क्षति भने कम भएको ट्राफिक कार्यालयले जनाएको छ। गत वर्ष सोही अवधिमा ४६ जनाको मृत्यु तथा ४१४ जना घाइते भएका थिए।
दुर्घटना नियन्त्रणका लागि जिल्लामा छड्के जाँच तथा जनचेतना कार्यक्रम संचालन भइरहेको प्रहरी निरीक्षक थापाले बताए। फराकिला सडकमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, सवारी चाप वृद्धि र ट्राफिक नियमको अवहेलना दुर्घटना वृद्धि हुनुको प्रमुख कारण भएको उनको भनाइ छ।