कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौँ — काठमाडौँ महानगरपालिका–२७, कान्तिपथमा कारको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको लिखु गाउँपालिका–९ का ३४ वर्षीय सन्तोष खड्का गम्भीर घाइते भएका थिए।
गएरातिको दुर्घटनापछि खड्कालाई उपचारका लागि केएमसी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटनासम्बन्धी थप अनुसन्धानका लागि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।