कांग्रेस बैठक डेढ महिनामा निष्कर्षविहीन, घिमिरेको व्यंग्य
१० मंसिर, काठमाडौं — नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता गुरु घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक असाधारण रूपमा लम्बिएको भन्दै ‘संसारकै कीर्तिमान तोड्नेगरी’ बैठक चलेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पक्षधर भेलामा सम्बोधन गर्दै घिमिरेले असोज २८ गते सुरु भएको बैठक डेढ महिनाभन्दा बढी समय बित्दा पनि निष्कर्षमा नपुगेको बताउँदै व्यंग्यात्मक रूपमा नेतृत्व र व्यवस्थापनप्रति असन्तुष्टि जनाए।
उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा लामो बैठक २३ दिन चलेको थियो। “हाम्रो त डेढ महिना पुग्न लाग्यो, महीनाको हिसाबले तीन महिना जस्तै भयो,” घिमिरेले भने, “संसारका कीर्तिमान हामीले नै भंग गर्ने हो जस्तो देखियो।”
घिमिरेले पार्टी कार्यसमितिले यतिबेला निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्र सफल भएको उल्लेख गर्दै, त्यसबाहेक अन्य महत्वपूर्ण विषयमा कुनै ठोस निर्णय निस्कन नसकेको आरोप लगाए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि (बिहीबार) बस्ने भनिए पनि फेरि स्थगित हुने चर्चाले पार्टीभित्र विश्वसनीयतामाथि प्रश्न उठाएको उनको भनाइ थियो। “सर्ने हल्ला नै सत्य हुन्छ, गर्ने हल्ला कहिल्यै सत्य हुँदैन,” घिमिरेले भन्न पुगे।
विशेष महाधिवेशन पक्षधरहरूको भेलामा उपस्थित नेताहरूले पार्टीभित्रको अनिर्णय र नेतृत्वहीनता अन्त्य गर्न समयमै महाधिवेशन आवश्यक भएकोमा जोड दिएका छन्।